काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ। दुबईको डी–सेभेन्स मैदानमा सोमबार भएको खेलमा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भयो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो। नेपालको ब्याटिङ कमजोर रहँदा बंगलादेशका बलर हावी देखिए। नेपालका लागि अभिशेख तिवारीले सर्वाधिक ३० रन बनाए भने साहिल पटेलले १८, निरज कुमार यादवले १४ तथा आशिष लोहोराले १२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालले आतिरिक्त रूपमा २३ रन पाएको थियो
बंगलादेशका लागि बलिङतर्फ मोहम्मद सोबुजले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। यसका साथै अल–अमिन, मोहमद सहरियारले १–१ विकेट हात पारे भने कप्तान आजिजुल हकिम तमिमले २-२ विकेट हात पारे।
१३१ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २४.५ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। बंगलादेशको जितमा मध्यक्रमका ब्याट्सम्यानले संयमित खेल प्रदर्शन गरे। नेपालका लागि बलिङतर्फ सन्तोषजनक प्रयास भए पनि विपक्षीलाई रोक्न पर्याप्त भएन।
यस हारसँगै समूह ‘बी’ मा रहेको नेपाल दबाबमा परेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग पनि हार बेहोरेको थियो। लगातार दोस्रो हारपछि नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ।
अब नेपालले आफ्नो अन्तिम समूह खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपालका लागि जित अनिवार्य बनेको छ भने अन्य टोलीको नतिजामा पनि निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ।
